नियम ११
जम्मा रकममा लाग्ने हक दावी

(१) बैङ्कमा जम्मा भएको रकममा खातावाला बाहेक अरु कसैको हक दावी लाग्ने छैन ।
तर नाबालक खाताको हकमा नाबालकको उमेर पूरा नभएसम्म निजको नाममा जम्मा गर्ने व्यक्तिको हक लाग्नेछ ।
(२) खातावालाको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बैङ्कमा जम्मा भएको रकम लिन पाउनेछ । दुईजनालाई इच्छाइएकोमा इच्छाएको पहिलो व्यक्तिले जम्मा भएको रकम लिन पाउनेछ र पहिलो व्यक्ति मृत्यु भएमा इच्छाइएको दोस्रो व्यक्तिले सो रकम लिन पाउनेछ ।
(३) इच्छाएको व्यक्तिहरूको मृत्यु भएमा वा कसैलाई इच्छाएको रहेनछ भने देहायको नातापर्ने मध्ये क्रम अनुसार जुन जीवित छ सोही व्यक्तिको त्यस्तो खातामा हक लाग्नेछः
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा,
(ग) सगोलको अविवाहित छोरी,
(घ) सगोलको बाबु, आमा र छोरापट्टिको नाति,
(ङ) भिन्न बसेको पति वा पत्नी,
(च) भिन्न बसेको छोरा,
(छ) भिन्न बसेको अविवाहिता छोरी, बाबु र आमा,
(ज) सगोलको बाबुपट्टिको बाजे, बज्यै, दाजु, भाई, विधवा छोरा बुहारी र छोरा पट्टिको अविवाहिता नातिनि,
(झ) सगोलको अविवाहिता दिदी बहिनी र विवाहिता छोरी,
(ञ) सगोलको भतिजा भतिजी, सौतेनी आमा, भिन्न बसेका छोरापट्टिको नाति, अविवाहिता नातिनि,
(ट) सगोलका काका, विधवा काकी, भाउज्यू, भाई बुहारी, नातिनी बुहारी,

(ठ) भिन्न बसेका दाजु, भाई,
(ड) विवाहिता दिदी, वहिनी, भिन्न बसेका बाजे, बज्यै, विधवा छोरा
बुहारी, नातिनि बुहारी, भतीजा ।
स्पस्टीकरणः एक क्रममा एकभन्दा बढी नातेदारहरू तोकिएको भए सो क्रममा तोकिएका सबै नातेदारहरूले बराबर हिस्सामा मृत
खातावालाको बाँकी रकम पाउन सक्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम इच्छाइएको व्यक्ति वा हकदारले मृत खातावालाको रकम झिक्न खातावालाको मृत्यु भएको मितिले तीन वर्षभित्र सो कुराको सूचना बैङ्कलाई दिनुपर्छ ।